वैदेशिक रोजगारीमा जाने कामदारको देशैपिच्छे फरक-फरक पाठ्यक्रम
काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरणका लागि देशैपिच्छे फरकफरक पाठ्यक्रम लागू गर्ने भएको छ। जुनसुकै मुलुकमा जाने कामदारलाई पनि एउटै किसिमको पाठ्यक्रम लागू गरिँदा तालिम प्रभावकारी नभएपछि देशअनुसारको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको हो।
प्रत्येक देशको भाषा, संस्कृति, आर्थिक तथा सामाजिक पक्ष फरकफरक हुने भएकाले अभिमुखीकरण तालिमको पाठ्यक्रम पनि सोही अनुसार तय गर्न लागिएको सम्बद्ध अधिकारीले जानकारी दिएका छन्। हाल नाममात्रको अभिमुखीकरण तालिम दिएर पठाउने गरिएकाले विदेशमा पुगेपछि नेपाली कामदारमा भाषा र कामसम्बन्धी आधारभूत सीपको समेत कमी हुने गरेको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नयाँ पाठ्यक्रम तयार पार्ने काम भइरहेको बताए। समयानुकूल प्रत्येक मुलुकमा जाने कामदारलाई सोही देशको सामाजिक, साँस्कृतिक पक्ष र कामसँग सम्बन्धित विषयमा आधारभूत जानकारी दिने किसिमको पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए।
सबै मुलुकमा जाने कामदारका लागि एउटै किसिमका पाठ्यक्रम लागू गरिँदा तालिम प्रभावकारी नभएपछि देशअनुसारको फरक पाठ्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको हो।
अहिलेको पाठ्यक्रमअनुसार न्यूनतम १० घन्टाको तालिम लिए पुग्छ। सरकारले पाठ्यक्रममा परिमार्जनसहित कम्तीमा एक साताको तालिम लिनुपर्ने व्यवस्था गर्दैछ। तालिममा अडियो-भिडियो प्रविधिसमेत प्रयोग गरिनेछ।
बोलेका कुरा बुझ्ने, त्यसको उत्तर दिने तरिकाका बारेमा जाने कामदारलाई सिकाइनेछ। यसैगरी सुन्ने, बोल्ने र सोधिएका प्रश्नको कसरी जबाफ दिने भन्ने विषयमा पनि अडियो-भिडियोका माध्यमबाट जाने कामदारलाई सिकाइनेछ।
पाठ्यक्रममा परिमार्जनसँगै अभिमुखीकरण तालिम प्रदायक संस्थाको भौतिक संरचनामा समेत सुधार गर्न नयाँ व्यवस्था लागू गरिएको छ। तालिमप्रदायक संस्थामा दक्ष शिक्षक हुनुपर्नेछ। तालिम दिने संस्थामा टेलिभिजन, कम्प्युटर, टेलिफोन तथा फ्याक्स अनिवार्य हुनुपर्नेछ। तालिम प्रभावकारी नभएको गुनासो आउन थालेपछि भौतिक पूर्वाधारको अवस्थाका बारेमा वैदेशिक रोजगार विभागले अनुगमनसमेत थालेको छ।
विभागले अनुगमन गर्दा तालिमप्रदायक संस्थामा भौतिक पूर्वाधारको अवस्था कमजोर फेला पारेको थियो। एक महिनाभित्र तोकिएका सबै पूर्वाधार तयार गरिसक्न त्यस्ता संस्थालाई निर्देशन दिइएको वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले जानकारी दिए।
दैनिक औसतमा एक हजार पाँच सयजना नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सरकारी अनुमति लिएरै विदेशमा काम गर्ने नेपालीको संख्या ३५ लाख नाघिसकेको छ। गैरकानुनीरूपमा जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ। कामसम्बन्धी आधारभूत ज्ञान अभावका कारण नेपाली कामदारले विदेशमा न्यून तलब सुविधामा जोखिमपूर्ण काम गर्न बाध्य छन्। annapurnapost.com

