कति भए होलान त जबर्जस्ती करणीका घटना ?

बागलुङ, कात्तिक २२– जिल्लामा जबर्जस्ती करणीका घटना बढेका छन् । पछिल्लो वर्षका आँकडाले जबर्जस्ती करणीका घटना बढ्दो क्रममा रहेको देखाएको छ । विविध कारणले महिला तथा कम उमेरका बालिकामाथि हुने जबर्जस्ती करणीका घटना वृद्धि भएका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पछिल्लो २७ महिनाभित्र २१ वटा जबर्जस्ती करणी र करणी उद्योगका घटना घटेका छन् ।

तस्वीर सन्दर्भका लागि मात्र

आर्थिक वर्ष ०६९÷७० मा जबर्जस्ती करणीका चार घटना भएकामा आर्थिक वर्ष ०७०/७१ मा दोब्बर बढेर आठ पुगेका थिए । त्यस्तै जबर्जस्ती करणी उद्योग (प्रयास) का घटनामध्ये आव ०६९/७० मा चार र ०७०/०७१ मा चार घटना जिल्ला प्रहरीमा दर्ता भएका थिए । जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योग गरी दुईखाले मुद्दा प्रहरीमा दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्काले बताए ।

चालु आवको पहिलो त्रैमासिकमा पनि चारवटा जबर्जस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन् । तीनवटा जबर्जस्ती करणी र एक जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता भएको प्रनानि खड्काले जानकारी दिए । अदालतले कसुर प्रमाणित गरेपछि अपराधी कारबाहीको दायरामा आउने र त्यस्तो प्रक्रिया पार गर्न पाँच÷सात महिनासम्म लाग्ने गरेको अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक धनबहादुर थापाले बताए ।

फौजदारी अभियोगअन्तर्गत पर्ने जबर्जस्ती करणीका मुद्दा सिधै जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको छ । सरकारीवादी उक्त मुद्दाको दर्ता तथा जायरीका लागि पीडित सिधै प्रहरीमा आउने गरेका छन् । कानुनतः १० वर्षमुनिका बालिका भए १० वर्षदेखि १५ वर्षसम्म कैद, १० वर्षभन्दा माथि चौध वर्षमुनिका बालिका भए आठदेखि १२ वर्षसम्म कैद, १४ वर्षमाथि १६ वर्षमुनिका बालिका भए छ वर्षदेखि १० वर्षसम्म कैद, १६ वर्षभन्दा माथि २० वर्षमुनिका बालिका भए पाँच वर्षदेखि आठ वर्षसम्म र २० वर्षदेखि माथिका महिला भए पाँचदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । रातोपाटी बाट स्रोत साभार

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस