भारतीय प्रधानमन्त्री मोदीको जनकपुर-लुम्बिनी भ्रमण

मोदीका लागि वारिपारि धमाधम तयारी
भारतीय प्रधानमन्त्रीको जनकपुर-लुम्बिनी भ्रमण
जनकपुर, कार्तिक २४ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मंसिर ९ मा प्रस्तावित जनकपुर भ्रमणका लागि तयारी तीव्र बनाइएको छ। सीमावर्ती भारतीय सहर सुरसन्डमा हेलिप्याड निर्माणस्थलको खोजी भइरहेको छ। भिठ्ठामोड-जलेश्वर-जनकपुर सडक मर्मत थालिएको छ। योजना बनाउने क्रममा दुवै देशका सुरक्षा अधिकारीले भेटघाट बाक्लो बनाएका छन्। दुवै देशका नागरिकमा तात्कालिक विकासको अभियानले गति पाएकाले उत्साह देखिन्छ.
भारतीय सुरक्षास्रोतका अनुसार मोदी हेलिकप्टरबाट सुरसन्डमा उत्रिने छन्। त्यसका लागि भारत सीतामढी जिल्लाको सुरसन्डस्थित जवाहरलाल नेहरू मेमोरियल कलेज मैदानमा हेलिप्याड बनाउने तयारी थालिएको छ। उक्त कलेज नेपाल सीमाभन्दा ५० मिटर पश्चिममा पर्छ। कलेजका प्राचार्य विमलेश झाका अनुसार भारतीय उच्चसुरक्षा अधिकारीले मैदानको स्थलगत निरीक्षण गरेका छन्। 'यहीं बन्छ भन्ने ठोकुवा गर्न सकिंदैन तर ठाउँ धेरैपल्ट हेरिसके,' झाले भने। उनका अनुसार यसअघि विहारका तत्कालीन मुख्यमन्त्रीहरू कलेज परिसरमै हेलिकप्टरबाट आएका थिए।


त्यहाँ उत्रेर मोदी मोटरमा जनकपुर आउने अनुमान छ। सुरसन्डमा भारतीय प्रधानमन्त्रीले गर्ने यो पहिलो भ्रमण हुनेछ। जसका कारण नगरवासीमा उत्साह छ। कलेजका परीक्षा नियन्त्रक तथा सुरसन्डका बासिन्दा नागेन्द्र राउतका अनुसार लालु यादव, नितिश कुमार र रावडीदेवीलगायत विहारका मुख्यमन्त्री आएका थिए तर प्रधानमन्त्री भने आएका थिएनन्। 'सडक सफाइ, घरघरमा रंग बनाउने र प्रधानमन्त्रीको आगमनसँगै पुष्पवृष्टि गर्ने योजना नगरवासीको छ,' स्थानीय प्रेमचन्द्र साहले भने।

यस्तै, भिठामोड-जलेश्वर-जनकपुर सडक आसपासका नेपालीले पनि भारतीय प्रधानमन्त्रीलाई स्वागत/अभिवादन गर्ने स्वतःस्फूर्त योजना बनाएका छन्। 'सरसफाइ र चोकचोकमा तोरणद्वार बनाउने तयारी भइरहेको छ,' पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति हरिप्रसाद मण्डलले भने। २२ किमि लम्बाइको जलेश्वर-भिठामोड खण्ड र भिठामोडदेखि भारतीय सीमासम्मको सडक मर्मत अन्तिम चरणमा पुगेको छ। डिभिजन सडक जनकपुरका प्रमुख दिनेश अर्यालका अनुसार कात्तिकभित्रै मर्मतसम्भार पूरा हुनेछ।

गत साता गृहसचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक जीतबहादुर केसी, सशस्त्रका नायव महानिरीक्षक शैलेन्द्र खनालसहितका उच्च अधिकारीले उक्त सडक निरीक्षण गरेका थिए। उक्त टोलीमा रहेका सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले उक्त सडक तत्काल मर्मतसम्भार थाल्न निर्देशन दिएका थिए। यस्तै, गत साता आएका भारतीय राजदूत रणजित रायले स्थानीय राजनीतिक दलका नेता, पूर्व तथा वर्तमान सभासद तथा नागरिक समाजका अगुवासँग भेटेका थिए। ekantipur.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस