मोटरसाइकल चढेर शौचालय गर्न धाउनु परेपछि

सुरुङ्गा, २९ मङ्सिर । बीस हजार जनसङ्ख्या भएको गाविसमा एक हजार ५०० पनि शौचालय छैनन्भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर सत्य यही हो । तीन हजार २०० घरधुरी भएको राजगढ गाविसमा एक हजार ५०० पनि शौचालय नभएको गाविसको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०१६ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारको लक्ष्य भए पनि चेतना अभावका कारण राजगढलगायत अधिकांश गाविसमा यस्तो समस्या अझै ज्यूँका त्यूँ रहेको छ । “आदिवासी समुदायको बाहुल्यता रहेको राजगढ गाविसमा बसोबास गर्ने अधिकांशले शौचालय प्रयोग गर्दैनन्”–गाविस सचिव तेजप्रसाद रेग्मीले भने ।

गाविसले खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि गाउँस्तरीय वातावरण सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेर कार्यक्रम अघि बढाए पनि पूर्ण रुपमा सो कार्यक्रम प्रभावकारी बन्न नसकेको सचिव रेग्मीको भनाइ छ । आर्थिक विपन्नता भएका मानिसको घरमा शौचालय भए पनि हुनेखानेका घरमा शौचालय नभएको सचिव रेग्मी बताए ।


“विशेषगरी राजगढको २, ७, ४ र ९ नं वडाका अधिकांश स्थानीयवासीले शौचालय प्रयोग गर्दैनन्”–स्थानीयवासी जगदीश घिमिरेले भने । “राजवंशी समुदायका मानिसले शौचालय प्रयोग गर्दैनन् बरु शौचालय जाँदा उनीहरु मोटरसाइकल प्रयोग गर्छन्” घिमिरेले भने । विरिङ, घाग्रा, अन्धुवा लगायतका खोलाधारसम्म बिहानै मोटरसाइकल लिएर शौचालय जाने गरेका उनीहरुले आर्थिक अभावले शौचालय नबनाएका होइनन् घिमिरे बताए ।

छ महिनाअगाडि नै गाविससचिवको अध्यक्षतामा खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि गाउँस्तरीय वातावरण सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेर खुल्ला दिसामुक्त गाविस घोषणाका लागि तयारीमा गाविस जुटे पनि चेतना अभावले राजगढका सर्वसाधारणले शौचालय नबनाउँदा समस्या उत्पन्न भएको सचिव रेग्मी बताउनुहुन्छ । झापामा रहेका सात नगरपालिका र ३७ गाविसमध्ये दुवगाढी तथा शरणमती गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् । रासस/annapurnapost

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस