काठमाडौं : धर्म परिवर्तनका पक्षमा अभिव्यक्ति दिएका बेलायती राजदूत एन्डी स्पाक्र्सलाई सरकारले 'समन' गर्ने भएको छ। धर्म परिवर्तनका पक्षमा खुला अभियान चलाएपछि प्रधानमन्त्री सुशील कोइरालाले बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई निर्देशन दिएका हुन्।
कांग्रेस संसदीय दलको बैठकमा आइतबार सभासद् डा. शेखर कोइराला, डा. प्रकाशरण महत, रामहरि खतिवडालगायतले राजदूत स्पाक्र्सको अभिव्यक्तिप्रति आक्रोश पोख्दै सरकार चुप लाग्न नहुने धारणा राखेका थिए। स्पाक्र्सको अभिव्यक्तिले 'देशमा सरकार छ कि छैन, छ भने त्यस्तो अभिव्यक्ति दिनेमाथि कारबाही प्रक्रिया अघि बढ्छ कि बढ्दैनु भन्दै सभासद्ले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए।
जबाफमा प्रधानमन्त्री कोइरालाले नेपालमा धर्म परिवर्तनलाई संवैधानिक मान्यता दिनुपर्छ भन्दै हिँड्ने राजदूत स्पाक्र्ससँग स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री पाण्डेलाई निर्देशन दिइसकेको जानकारी दिएका थिए।
कोइरालालाई उद्धृत गर्दै सभासद् खतिवडाले भने, 'भोलि (सोमबार) परराष्ट्रमन्त्री पाण्डेले राजदूत स्पाक्र्सलाई मन्त्रालयमै बोलाएर नेपालमा धर्म परिवर्तनलाई संवैधानिक मान्यता दिनुपर्छ भनेको हो-होइन भन्नेबारे लिखित रूपमै स्पष्टीकरण लिनेछन्।'स्पष्टीकरणपछि कसो गर्ने भन्नेबारे आफूले निर्णय लिनेमा आश्वस्त रहन कोइरालाले सभासद्हरूसँग आग्रह गरेका थिए।
बैठकमा डा. कोइरालाले बेलायती राजदूतसँग तत्काल स्पष्टीकरण लिन आग्रह गर्दै २०४७ सालमा पनि बेलायतकै राजदूतले धार्मिक स्वतन्त्रताका लागि हस्तक्षेप गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ठाडै अस्वीकार गरेको दृष्टान्त दिए।
डा. कोइरालाले भने, 'भट्टराईले ती राजदूतलाई मुखभरिको जबाफ दिँदै तिम्रो देशमा क्याथोलिक मात्र राजा हुन पाउने मेरो देशमा हिन्दु हुन किन नहुने भन्दै मौन रहन बाध्य गराएका थिए, अहिले पनि बेलायती राजदूतबाट धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्ने कुरा आउनु आपत्तिजनक हो।' अर्का नेता डा. महतले पैसाको बलमा नेपालमा अराजकता निम्त्याउन खोज्ने राजदूतमाथि कारबाही गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिएका थिए।
सभासद् खतिवडाले सरकार कहाँ छ भन्ने प्रश्न गर्दै भनेका थिए, 'राजदूत स्पाक्र्सको सार्वजनिक अभिव्यक्तिविरुद्ध प्रस्ताव नै पारित गर्नुप:यो, यस्तै राजदूतहरूका कारण पहिलो संविधानसभामा जातीय नाराले उग्ररूप लिएको थियो।'
यसअघि आइतबार बिहान राप्रपा नेपालले राजदूत स्पार्कको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बुझाएको ज्ञापनपत्र स्वीकार्दै प्रधानमन्त्रीले यसबारे राजदूतसँग आवश्यक जानकारी दिने बताएका थिए। प्रधानमन्त्रीले राप्रपा नेपालको टोलीसँग पृथ्वीजयन्तीमा सार्वजनिक छुट्टी दिन आफू सकारात्मक रहेको जानकारीसमेत गराए। अध्यक्ष कमल थापा नेतृत्वको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार भेटेर आपत्ति जनाएको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
वाल्मीकि क्याम्पसका विद्यार्थीले पनि राजदूतको भनाइप्रति आपत्ति जनाउँदै उनको पुतला जलाएका छन्। नेपाल साधु महासंघले राजदूतको अभिव्यक्तिको विरोधमा आइतबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र दूतावासमार्फत बेलायती महारानी एलिजावेथ द्वितीयालाई ध्यानाकर्षणपत्र बुझाएको छ।
राजदूत स्पाक्र्सको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली सभाको भ्रातृसंगठन तरुण सभाले आईएलओ १९६ को नेपालस्थित कार्यालयमा विरोध जनाएको छ। विश्व युवा संघले पनि बेलायती दूतावासअगाडि दुई घन्टा धर्ना दियो। विराटनगरमा पनि राजदूत स्पाक्र्सको पुतला दहन गरिएको छ। अन्नपूर्ण पोस्ट

