झापा : जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय झापाको बजार अनुगमन टोली खाना पकाउने ग्यास अभावको विषयमा अनुगमन गर्न सोमबार दमक बजार पुग्दा कन्काई ग्यासका डिलर अरनी ट्रेडर्सका प्रोप्राइटर रोहित अधिकारी भरेका ग्यासका सिलिन्डर भटाभट छिमेकमा रहेको दोकानको भित्री कुनामा लुकाउँदै थिए। बजार अनुगमन टोलीले भेट्टाएपछि उनले आइन्दा त्यसो नगर्ने भन्दै माफी मागे।
करिब दुई महिनायता पूर्वमा खाना पकाउने ग्यासको अभाव भइरहँदा अधिकांश ग्यास डिलरले सिलिन्डर लुकाएर राखेको प्रशासनको अनुगमन टोलीले भेटेको छ। बजारमा ग्यासको अभाव भइरहँदा दमक चोक दक्षिणमा रहेको राजेश स्टोर्सका प्रोप्राइटर राजेश अधिकारीकहाँ ३८ वटा भरी सिलिन्डर भेटिएको थियो। उनको पसलमा दुई दिन बिराएर ग्यास आपूर्ति भइरहेको पाइएको थियो।
त्यसैगरी त्रिशक्ति ग्यासको डिलर दमक १३ को सौरभ सप्लायर्समा पनि त्रिशक्ति ग्यासका भरेका सिलिन्डर नियमित आपूर्ति भइरहेको भेटिएको अनुगमनमा खटिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत राजु दाहालले बताए। तर, विगतभन्दा धेरै कम मात्रामा आपूर्ति भइरहेको उनले बताए।
दुई महिनायता पूर्वमा खाना पकाउने ग्यासको अभाव भइरहँदा अधिकांश ग्यास डिलरले सिलिन्डर लुकाएर राखेको प्रशासनको अनुगमन टोलीले भेटेको छ। सर्वसाधारण ग्यास खोज्न दैनिकजसो बजारमा भौंतारिइरहन्छन्।
दहालले भने, 'बजारमा ग्यासको धेरै अभाव भनेर जुन भनिएको थियो, त्यो होइन रहेछ। पसलहरूले ग्यासका सिलिन्डर स्टकमा राखिदिएका कारण समस्या आएको हामीले भेट्यौं।' उनका अनुसार झिल्झिले बजारमा रहेको जोशी स्टोर्सका प्रोप्राइटर राम जोशीले पसलभन्दा करिब पाँच सय मिटर टाढा रहेको घरमा कोसी ग्यासका डेढ सय भरी सिलिन्डर राखेका थिए।
यस क्षेत्रका सर्वसाधारण ग्यास खोज्न दिनहुँ बजारमा भौतारिन्छन्। बिर्तामोड झापाका होटेल व्यवसायी चन्द्र सेढाईं विगत दुई महिनादेखि खाना पकाउने ग्यासको खोजीमा दैनिक ग्यास डिलरकहाँ धाइरहेका छन्। उनका अनुसार भनेको बेला ग्यास पाउनु भाग्यको कुरा हो।
ग्यास डिलरहरूले भरेका ग्यासका सिलिन्डर लुकाई मनपरी मूल्यमा बिक्री गरिरहेको उनको भनाइ छ। सेढाईंले भने, 'ग्राहकले महिनौं दिनसम्म क्युमा बस्नुपर्छ। चौध सय ५० पर्ने एक सिलिन्डर ग्यासलाई कसैले १६ सयसम्ममा बेचिरहेका छन्।'
झापाको चारआलीस्थित ग्यास डिलर महालक्ष्मी इन्टरप्राइजेजकी प्रोप्राइटर सरिता मरासिनीले आफ्ना ग्राहकलाई प्राथमिकता दिने हुनाले सिलिन्डर स्टकमा रहेको बताइन्। उनले भनिन्, 'अरू बेला मकहाँ नआउने, अनि ग्यास अभाव भएका बेला आउनेलाई अलिदिन पर्खन भन्ने गरेकी छु।'
उपभोक्ताबादी संस्थाका प्रतिनिधि भन्छन्- त्यस्तालाई कालो बजारी गरेबापत प्रशासनले कारबाही गर्नुपर्छ। राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले अभावका बेला ग्यासका सिलिन्डर लुकाएर कृत्रिम अभाव गराउनेलाई प्रशासनले कडा कारबाही गर्नुपर्ने बताए।
खाना पकाउने ग्यासको अभाव हुनुमा भारतबाट ग्यासको आपूर्ति ४० प्रतिशत घट्नु पनि हो भन्छन् ग्यास उद्योगी। त्यसैले पूर्वाञ्चलका सर्वसाधारणले ग्यास अभावको मार खेपिरहेको मेची ग्यास उद्योगका लेखापाल शान्तकुमार आचार्यको भनाइ छ। झापामा मेची, कन्काई, कोसी, सुविधा, त्रिशक्ति र प्रिमा ब्रान्डका ग्यास सिलिन्डरको कारोबार हुने गरेको छ। annapurnapost बाट

