विश्वको सबैभन्दा मोटो मानिसको निधन

लण्डन, मंसिर २० – कुनै बेला विश्वकै सबैभन्दा मोटो मानिसको रेकर्ड बनाएका किथ मार्टिनको ४४ वर्षको उमेरमा निधन भएको छ । बेलायतको लण्डनका वासिन्दा किथको निमोनिया रोग कारण निधन भएको डेली मेलले जनाएको छ ।
उनको वजन एक समय ४४५ किलोग्रामसम्म पुगेको थियो । जसले गर्दा उनी एक दशकसम्म आफ्नो घरबाट समेत निस्कन तथा हिँडडुल गर्न पनि असमर्थ भएका थिए । युवा अवस्थामा आमाको निधन पछि डिप्रेसनमा परेका किथले त्यो पीडाबाट उभार पाउन खान थालेका थिए ।

उनले एक दिनमा २० हजार क्यालोरीसम्म खाना खाने गरेका थिए जुन सामान्य वयस्क मानिसले खानेभन्दा १० गुणा बढी हो । उनले बिहानको खाजामा ६ वटा अण्डा फ्राइ अप, त्यसपछि दिउँसो लञ्च र राती डिनरमा मा पिज्जा, कबाब, चिनियाँ फास्टफुट र बिग म्याक खाने गरेका थिए, त्यो पनि ३ लिटर कफी र २ लिटर कोल्ड ड्रिकंस्सँग ।
गत वर्ष मात्र उनले आफ्नो पेटको ३ चौथाई भाग अपरेसनबाट हटाएका थिए । जसबाट उनको वजन आधा घटेको थियो । अपरेसनका लागि उनले २० हजार क्यालोरीबाट आफ्नो दैनिक आहार २ हजार क्यालोरीमा झारेका थिए । उनको अपरेसनलाई च्यानल ५ मा डकुमेन्ट्री पनि बनाएको थियो ।

किथका दुई दिदीबहिनी रहेका छन् जसले उनको ख्याल राख्दै आएका थिए । सन् २०१३ मा उनी सेप्टिक सक र डिहाइड्रेसनका कारण अस्पताल भर्ना भएका थिए । त्यसको दुई हप्तापछि उनलाई निमोनिया देखिएको थियो । चार महिना अस्पतालमा बिताएपछि उनलाई सन् २०१४ को फेब्रुवरीमा डिस्चार्ज गरिएको छ । यतिबेला उनको वजन २ सय ४८ किलोमा झरेको थियो ।
उनको निधनपछि किथको अपरेसन गर्ने डाक्टरहरुले अब फास्ट फुडमा कर लगाउनुपर्ने बताएका छन् । ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस