बाबु छोराबाट पालैपालो बलात्कृत
झापाः घरेलु कामदार राखिएकी नातेदार बालिकालाई तीन बाबुछोराले तीन वर्षदेखि पालैपालो बलात्कार गर्दै आएको खुलेको छ । झापाको शरणामति गाविस–८ मदरगाछ घर भई सदरमुकाम चन्द्रगढी बस्दै आएकी १४ वर्षीया बालिका बाबुछोराबाट तीन वर्षदेखि बलात्काकृत हुँदै आएको खुलेको हो ।
बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले भद्रपुर–१० का ७० वर्षीय भेषराज पोखरेललाई पक्राउ गरेको छ । पीडित बालिकाका बाबुले दिएको जाहेरीका आधारमा पोखरेललाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।
पढन बसेकै बर्षदेखि आफूलाई कुटपिट गरी पोखरेल बाबुछोराले यौनदुराचार गर्दै आएको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बलात्कारपछि अत्याधिक रक्तश्राव हुँदा बालिका पटक पटक विद्यालयमै बेहोस हुँदै आएकी विद्यालयका प्राचार्य टंक पाण्डेले बताए । बेहोस हुने क्रम बढेपछि सोधीखोजी गर्दा घटना बाहिर आएको उनले बताए ।
घटना सार्वजनिक भएलगत्तै बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । आफूमाथि हुँदै आएको अत्याचारको सबै विवरण उनले लिखितरुपमा प्रहरीलाई दिएको प्रहरीले जनाएको छ । बालिकाका अनुसार घटना सार्वजनिक गरे पोखरेल बाबुछोराले मारेर फ्याँकिदिने धम्की दिँदै आएका थिए ।
फरार खेमराजलाई पक्राउ गर्न वीरेन्द्र उच्च माविका विद्यार्थीले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मुकुन्दराज आचार्यले पोखरेलको खोजी भइरहेको जानकारी दिए । अन्नपुर्ण पोस्ट

