दिसा लुकाउँदै गाउँले

सुर्खेत : जिल्लाका ग्रामीण बासिन्दा अहिले दिसा लुकाउने चटारोमा छन्। सदरमुकामबाट जाने सरकारी र गैरसरकारी निकायका व्यक्ति र बटुवाले गिज्याउन थालेपछि नजिकैका खोला, खोल्सा, झाडी र खुला स्थानमा दिसा गर्दै आएका गाउँले दिसा लुकाउने अभियानमा व्यस्त बनेका हुन्।

घरमा शौचालय बनाउने, छिमेकीका घरमा शौचालय बने-नबनेको अनुगमन गर्ने, बैठकमा सहभागी हुने, कसैले खुला स्थानमा दिसा गरे सम्झाउने र सरसफाइ चेतना फैलाउने काम गर्दा गाउँले व्यस्त पनि भएका छन्। दिसा लुकाउनु गाउँको प्रतिष्ठासँग जोडिएको विषय भएकाले अचेल फुर्सदका बेला पनि उनीहरू सरसफाइबारे छलफल गर्छन्।

आगामी असार मसान्तसम्म जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी भएकाले ग्रामीण बासिन्दा टोल सफा राख्न र घरघरमा शौचालय बनाउन लागिपरेका छन्। अभियानमा शिक्षक, कर्मचारी, सामुदायिक वनका पदाधिकारी, स्वयंसेवक, वडा नागरिक मञ्चका पदाधिकारी, राजनीतिक दलका कार्यकर्ता र विद्यार्थी पनि सक्रिय छन्।

पक्की शौचालय बनाउन नसक्ने आर्थिक रूपमा कमजोर परिवारले छिमेकीको श्रमदानबाट कच्ची शौचालय बनाउन थालेका छन्। खुला दिसामुक्त अभियानमा लागेका गाउँलेले कच्ची शौचालय पनि बनाउन नसक्ने छिमेकीलाई निश्चित स्थानमा खाल्डो खनेर दिसा गर्न बाध्य बनाएका छन्। कसले पहिला आफ्नो गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने भन्नेमा प्रतिस्पर्धा हुन थालेको छ।

घोरेटा गाविसका बासिन्दाले दिसा लुकाउने कामलाई प्राथमिकता दिएका छन्।

स्थानीय मानसिं विकले खुला ठाउँमा दिसा गर्दा गाउँ नै फोहोर हुने भएकाले सबै गाउँले दिसा लुकाउने अभियानमा जुटेको बताए। उनले भने, 'अब हाम्रो गाविसमा कसैले पनि खुला स्थानमा दिसा गर्ने छैन। हामी सबैले घरमा शौचालय बनाइसकेका छौं। हिजोआज कसरी दिसा लुकाउने भन्नेमै हाम्रो समय बितेको छ।'

पाम्का गाविसका बासिन्दालाई पनि घरमा शौचालय बनाउन भ्याइनभ्याइ छ। स्थानीय छविलाल रानाले भने, 'गाउँका अधिकांश घरमा शौचालय बनिसकेका छन्, आधा दर्जन घरमा बन्न बाँकी छ। ती घरलाई पनि एक साताभित्र शौचालय बनाउन भनिसकेका छौं।' उनले दिसा लुकाउने अभियानमा महिला विशेष सक्रिय रहेको जानकारी दिए।

क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका अनुसार पछिल्लो समयमा गाउँलेमा खुला स्थानमा दिसा गर्नु हुँदैन भन्ने चेतना विकास भएकाले पनि दिसा लुकाउने अभियान सफल हुँदै गएको छ।

हालसम्म जिल्लाका ३२ वटा गाविस खुला दिसामुक्त घोषित भइसकेको जानकारी दिँदै कार्यालयका खानेपानी तथा सरसफाइ प्राविधिक जितबहादुर सारूले भने, 'असार मसान्तभित्र सुर्खेतलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ।' उनले आर्थिक अभाव र खानेपानीको सुविधा नहुँदा केही समस्या रहेको बताए।

ग्रामीण क्षेत्रमा खानेपानी तथा सरसफाइमा सहजीकरण गर्दै आएको संस्था सुन्दर नेपालका कार्यक्रम संयोजक गणेश वलीले पछिल्लो समयमा गाउँले सक्रिय हुन थालेपछि दिसा लुकाउने अभियान प्रभावकारी बन्दै गएको बताए।  अन्न्पूर्ण पोस्ट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस