वैदेशिक रोजगारमा अरबैां रूपैयाँ ठगी

काठमाडौं : गत वर्ष वैदेशिक रोजगारीका सन्दर्भमा एक अर्ब तीन करोड रुपैयाँभन्दा बढी ठगी भएको उजुरी परेका छन्। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम उठाएर फरार हुने, जाने कामदारसँग रकम लिएर लामो समयसम्म विदेश नपठाएको भन्दै उजुरी परेको हो। गत आर्थिक वर्ष २०७०/७१ मा वैदेशिक रोजगार विभागमा ठगीका २५ सय ५१ वटा उजुरी दर्ता भएका छन्। यी उजुरीमा एक अर्ब तीन करोड रुपैयाँभन्दा बढी रकम बिगो दाबी गरिएको हो।

संख्यात्मक रूपमा ठगीको उजुरी संस्थागतमा बढी रहेको छ। तर, दाबी गरिएको ठगी रकम भने संस्थामा भन्दा व्यक्तिगतमा अधिक छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा व्यक्तिगत ठगीका नौ सय ७४ वटा उजुरी परेका थिए भने संस्थागत ठगीका १५ सय ७७ वटा उजुरी दर्ता भए। संस्थागतमा म्यानपावर कम्पनीले गर्ने ठगी पर्छ।

व्यक्तिगत ठगीका नौ सय ७४ वटा उजुरीमा ७५ करोड ८२ लाख ९३ हजार रुपैयाँ बिगो भराउन माग गरिएको छ। तर, संस्थागततर्फ भने जम्मा २७ करोड ६१ लाख ७७ हजार रुपैयाँको मात्र बिगो दाबी परेको छ। यसले ठगीका उजुरी संख्या संस्थागतमा धेरै तर रकम भने व्यक्तिगतमा बढी रहेको पुष्टि हुन्छ। व्यक्तिगतमा अमेरिका, क्यानाडा तथा अन्य युरोपेली मुलुकमा पठाइदिने भन्दै मोटो रकम असुलिने भएकाले बिगो रकमको दाबी धेरै भएको हो। संस्थागतमा अधिकांश म्यानपावर कम्पनीले मलेसिया र खाडी मुलुकका लागि काम गर्ने भएकाले तुलनात्मकरूपमा व्यक्तिगतमा भन्दा कम रकम लिने गरेका छन्। एक अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएकामा १५ करोड ७७ लाख ४२ हजार रुपैयाँको मात्र फरफारक हुन सकेको छ।

गत आर्थिक वर्ष २०७०/७१ मा वैदेशिक रोजगार विभागमा कुल २५ सय ५१ वटा ठगीका उजुरी दर्ता भएका छन्। यी उजुरीमा एक अर्ब तीन करोड रुपैयाँभन्दा बढी रकम बिगो दाबी गरिएको हो।
वैदेशिक रोजगार विभागमा ठगीका उजुरी परेको अनुपातमा अदालतमा मुद्दा दायर गर्ने प्रवृत्ति भने न्यून देखिएको छ। कुल १५ सय ७७ वटा ठगीका उजुरी विभागमा दर्ता भएकामा जम्मा एक सय ३३ वटा उजुरीको मात्र अदालतमा मुद्दा दायर भएको छ। कतिपय उजुरीमा विभागमै दुवै पक्षलाई मिलाएर समस्या समाधान गरिने भएकाले अदालतमा मुद्दा दायर हुने क्रम थोरै भएको विभागको दाबी छ। अदालतमा दायर भएका एक सय ३३ वटा मुद्दामध्ये व्यक्तिगततर्फ अत्यधिक पाइएको छ, जसमा एक सय २८ वटा मुद्दा व्यक्तिगत ठगीका छन्। बाँकी पाँचवटा मात्र संस्थागत ठगीका हुन्।

अदालतमा बिगो दाबी भएको रकम पनि व्यक्तिगतकै अत्यधिक छ। वर्षभरिमा जम्मा ४४ करोड रुपैयाँको ठगीको उजुरी अदालतमा दाबी गरिएकामा ४३ करोड ६४ लाख रुपैयाँ व्यक्तिगतकै छ। संस्थागतको बिगो दाबी जम्मा ३६ लाख हाराहारीमा छ। वर्षभरिमा अदालतमा जम्मा एक सय ३३ वटा मुद्दा दर्ता भएकामा व्यक्तिगतका नै एक सय २८ वटा छन्।वैदेशिक रोजगारीमा युवा बिदेसिने क्रम बढेसँगै ठगीका घटना पनि धेरै हुन थालेका छन्। ग्रामीण क्षेत्रका सोझा युवालाई विदेश पठाइदिने भन्दै मोटो रकम असुल्ने क्रम बढेको सरकारी तथ्यांकले देखाउँछ। दैनिक सरदरमा १५ सय जना नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। जानेमध्ये अधिकांश युवा अशिक्षित हुने भएकाले करार सम्झौताका बेला नै ठगिने गर्छन्। अन्नपूर्णपोस्ट मा प्रकाशित छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस