संवाद समितिमा कुरा राख्दैमा देश टुक्रिन्छ र छुट्टिन्छ भनेर प्रचारवाजी गरिनु गलत हो
काठमाडौं,भदौ ६–एमाओवादीका बरिष्ठ नेता तथा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले नयाँ संविधान बनाउने क्रममा सबै पक्ष र सरोकारबालाहरुसँग वार्ता,छलफल र रायसुझाव लिनुपर्ने बताएका छन् । उनले नयाँ संविधानलाई सबैको बनाउनका लागि सबैसँग छलफल र सल्लाह सुझाव लिएर मात्र निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
रातोपाटीसँग कुराकानी गर्दै उनले अब बन्ने संविधान सबैको साझा बनाउनुपर्ने भएकाले सबैको राय र सुझाव लिनु अपरिहार्य भएको बताए । भट्टराईले यही भावना अनुरुप संवैधानिक राजनीतिक तथा संवाद समितिले सबैसँग छलफल गरिरहेको स्पष्ट पारे । भट्टराईले राज्यकाविरुद्ध हतियार उठाइरहेका सशस्त्र समुहदेखि शान्तिपुर्ण संघर्ष गरिरहेकाहरुसँग संबाद समितिले छलफल गरिरहेको बताए ।
भट्टराईले यस्ता समुहसँग भएका छलफललाई अन्यथा लिन नहुने तर्क गर्दै नयाँ बन्ने संविधानलाई कसरी सर्वस्वीकार्य बनाउने भन्नका लागि ती शक्तिहरुसँग वार्ता र छलफल गरिएको जिकिर गरे । ‘राज्यको दायित्व हतियारधारी पक्ष र अन्य सबै पक्षका कुरा सुन्नु हो,हामी नयाँ संविधान बनाउँदै छौं । यस्तो बेलामा सबैका कुरा सुन्नुपर्छ’भट्टराईले सबैसँग भेट्नुको तात्पर्य खुलाउँदै भने,‘उनीहरुका कुरा हामीले सुन्नुपर्छ । संवाद समितिमा कुरा राख्दैमा देश टुक्रिन्छ र छुट्टिन्छ भनेर प्रचारवाजी गरिनु गलत हो ।’ रातो पाटीबाट

