१२ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय हनुमानढोकाको चौथो तलामा साइबर क्राइम हेर्ने शाखामा कार्यरत प्रहरी निरीक्षक पशुपति रायलाई फेसबुकसम्बन्धी गुनासो सुन्न भ्याई नभ्याई छ ।
सामाजिक सञ्जालमा हुने अपराधबारे बुझ्न अनलाइनखबरको टोली हनुमानढोका पुग्दा इन्स्पेक्टर रायले फेसबुकमा केही लेख्नुअघि सुरक्षाको हिसाबले समेत सतर्क हुनुपर्ने सुझाव दिए ।
‘भारतमा १९ वर्षकी एक युवतीले आफ्नो फेसबुकमा घरमा एक्लै छु भनेर लेखिछन् । अपराधीले स्टाटसकै आधारमा ती युवतीलाई फलो गरेछन्, जसले गर्दा उनको घरमा चोरी मात्रै भएन, उनको बलात्कार पनि भयो ।’ राय भन्छन्- ‘त्यसैले फेसबुकमा केही लेख्नुअघि धेरै कुरा विचार गर्नुपर्छ ।’
महाशाखाका प्रवक्ता एसपी भुपाल भण्डारीका अनुसार नेपालमा पनि फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् हुने अपराधसम्बन्धी गुनासा र उजुरीहरु बढ्न थालेका छन् ।
प्रहरीका अनुसार पछिल्लो समय समाजिक सञ्जाल फेसबुक अपराधको अखडा बन्न थालेको छ । ट्वीटरसहितका अन्य सामाजिक सञ्जालको तुलनामा फेसबुकमा धेरै नै अपराध बढेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकले देखाएको छ ।
फेसबुकबाट अश्लील गालीगलौज गर्ने, अपमानजनक कमेन्ट गर्नेदेखि लिएर अन्य गम्भीर प्रकृतिका अपराधहरु हुने गरेको पाइएको छ । ‘अहिले सोसल मिडियामा हुने क्राइमको संख्या बढेको छ’ महाशाखाका प्रवक्ता भण्डारीले अनलाइनखबरसँग भने- ‘सामाजिक सञ्जालसँग जोडिएर दिनमैआठ/दश वटा उजुरी पर्ने गरेका छन् ।’
अधिकांश पीडित महिला
भण्डारीका अनुसार फेसबुकमा हुने अपराधबाट बढीजसो महिलाहरु पीडित हुने गरेका छन् । अहिलेसम्म महिलाले पुरुषमाथि यस्तो अपराध गरेको उजुरी एउटा मात्रै परेको छ ।
महिलाहरुलाई गालीलजौज गर्नेदेखि अश्लील तस्वीर र भिडियो फेसबुकमा राख्ने क्रम बढेको एसपी भण्डारीले अनलाइनखबरलाई बताए । यसको उदाहरण हालै पक्राउ परेका ३० वर्षका रामकुमार स्याङ्बो हुन् । उनले सुरुमा नक्कली फेसबुक आइडी बनाएर एक महिलालाई साथी बनाए । पछि उनले सेक्स पार्टनर बन्न प्रस्ताव मात्र राखेनन्, आफ्ना अश्लील तस्वीरहरु समेत पठाए ।
‘महिलाका नग्न एवं अर्धनग्न तस्वीर राखेर म सेक्स वर्कर हुँ, यो नम्बरमा फोन गर्नुस् भनेर फेसबुकमा महिलाहरुको नम्बर राखेका धेरै घटना छन्’ एसपी भण्डारीले भने-’ त्यसरी राखिएको नम्बरमा एकै रातमा सय,डेढ कल आएको आएको पाइयो ।’
पुरुषको एक मात्र घटना
महाशाखाका अनुसार महिलाबाट पुरुषमाथि भएको अपराधको एउटा मात्रै उजुरी परेको छ । त्रिवि शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत युवकको अश्लील तस्वीर उनकी प्रेमिकाले सार्वजनिक गरेपछि पीडित विद्यार्थीबाट महाशाखामा उजुरी गरेको थियो ।
प्रेममा परेका बेला स्काइपीमा उनीहरुले भिडियो शेयर गरेका थिए । तर, प्रेम टुटेपछि युवतीले पूर्वप्रेमीको भिडियो सार्वजनिक गरेकी थिइन् ।
प्रेममा परेका युवायुवतीहरुबाट ब्रेकअपपछि अश्लील तस्वीर र भिडियो अपलोड घटना पनि बढ्दो छ । यस्ता उजुरीहरु पनि आउने गरेको महाशाखाले जनाएको छ ।
अपराधको बढ्दो ग्राफ
पछिल्लो आर्थिक वर्षमा प्रहरीमा आएका उजुरीमध्ये १६ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
जुन पछिल्लो दुई आर्थिक वर्षको भन्दा बढी हो । २०६८/२०६९ मा तीन र २०६९/७० मा एउटा मात्रै मुद्दा चलाइएको थियो ।
प्रहरीले गाली गलौज जस्ता उजुरीमा सम्वन्धित व्यक्तिलाई बोलाएर सचेत गराउनेदेखि फेसबुक एकाउन्ट नै बन्द गर्ने गरेको छ ।
महाशाखामा समाजिक सञ्जालमा हुने अपराध हेर्दै आएका प्रहरी निरीक्षक पशुपति रायले अनलाइनखबरसँग भने-’तर, पछिल्लोपटक गम्भीर अपराधका घटनामा बढेकाले १६ बटा मुद्दा नै चलाउँछौं ।’
कसरी हुन्छ अपराध ?
महाशाखामा उजुरी परेपछि आउने सबैले अञ्जानमा यस्तो भएको, आफूलाई फेसबुकका लेख्दा अपराध हुन्छ भन्ने थाहा नभएको भन्ने गरेका छन् । तर, अपराध त अपराध नै हो, कानुन अनुसार कारवाही हुन्छ नै ।
प्रहरी निरीक्षक पशुपति राय फेसबुकलाई हनुमानढोकाको वाल (भित्तो) जस्तै भएको बताउँछन् । ‘हनुमानढोकाको वालमा पोष्टर टाँस्नु भयो भने जो सुकैले जे पनि लेख्न सक्ने भयो । फेसबुक त वल्र्डवाइड भयो’ उनले भने-’त्यसैले फेसबुक चलाउँदा, स्टाटस लेख्दा वा तस्वीरहरु अपलोड गर्दा प्रयोगकर्ताहरुले पनि सोच्नुपर्छ ।’
फेसबुक, टि्वटर आदि चलाउनेहरुलाई एसपी भण्डारीको सुझाव छ- ‘के लेख्दा साइबर क्राइम हुन्छ भन्ने बारेमा पनि जनचेतना आवश्यक छ, मलाई कानून थाहा थिएन भनेर विद्युतीय कारोवार ऐनबाट उम्कन मिल्दैन ।’ अनलाइन खबर बाट साभार
प्रहरी महाशाखामा बढ्न थाल्यो फेसबुकको उजुरी

