चीनले मिचेको भूमिमा नेपालीलाई उल्टै कर लगाउँदै
संखुवासभा : चीनको सीमावर्ती किमाथांका र चेपुवा गाविसका बासिन्दाले चौपाया चराउन नेपालकै भूभागमा पनि कर तिर्नुपर्ने बाध्यता छ। नेपाल र चीनबीच अन्तिम सीमांकन हुँदा नेपालतर्फ परेको हजारौं हेक्टर जमिन चीनले बर्सौंअघि आफ्नो बनाएपछि सीमावर्ती गाविसका बासिन्दाले चौपाया चराउँदा चीनलाई वार्षिक प्रतिचौंरी ७५ रुपैयाँ र प्रतिभेडा ३० रुपैयाँ बुझाउनु परेको छ।
किमाथांकाका नागरिक अगुवा तेन्छिवी भोटेले किमथांकातर्फको एक गाउँ र ठूलो चरिचरन भूभाग चीनले हडपेको बताए। किमाथांकासँगै जोडिएको नेपाली भूभाग अहिले 'सानो चाइना' भनेर चिनिन्छ। चीनले नेपाली भूभाग आफ्नो भन्दै हडपेपछि कर लिन थालेको पनि उनले बताए।
| तस्वीरः गुगल |
उनका अनुसार किमाथांकादेखि पाँच सय मिटर नजिकदेखि सुरु हुने 'सानो चाइना' नेपाल र चीन सीमा भनेर उल्लेख गरिएको कामुखोलादेखि करिब दुई किलोमिटर नेपालतर्फ पर्छ। हिमालय प्रावि किमाथांकाका प्रधानाध्यापक लाचा भोटेका अनुसार सीमा मिचेपछि चीनले नयाँ स्तम्भ नै कुँदेको छ। पहिलेको कामुखोलातर्फको सीमास्तम्भ हुँदाहुँदै चीनले खोलावारि सानो चाइना र किमाथांका छुट्ट्याउन सानो खोल्सीको ढुंगामा नयाँ स्तम्भ कुँदेको हो।
चौंरीपालक किसानले नेपालकै भूमिमा पनि चौंरी चराउँदा कर तिर्न बाध्य हुनुपरेको भन्दै गुनासो गरेका छन्। एक सयभन्दा बढी चौंरी र भेडापालक किसानले वार्षिक १० हजार रुपैयाँसम्म चीनलाई तिर्ने गरेका छन्।स्थानीय निमा शेर्पाले भने, 'चीनले सीमा क्षेत्रमै मिलिसिया राखेको छ। रकम नतिरी चौपाया कटाउनै दिँदैन। तर चीनतिरका बासिन्दाले नेपाली भूमिमा चौंरी चराउन ल्याउँदा भने कुनै रकम तिर्नु पर्दैन।' उनले नेपाली सीमा असुरक्षित रहेको र चीनको बढी कडाइ भएको बताए।
तत्कालीन प्रमुख जिल्ला अधिकारी तुलसी गौतमसहित सुरक्षाकर्मी र सरकारी कार्यालयका प्रतिनिधि सम्मिलित अध्ययन टोलीले नेपाली जमिन चीनले मिचेको ठहर गरेको थियो। नेपाल र चीनको सीमा कामुखोला उल्लेख भइरहँदा खोलावारि पनि नेपाली जमिन चीनतर्फ गएको टोलीको ठहर छ।
नागरिक अगुवा तेन्छिवीले सीमांकनको अन्तिम समयमा धनकुटाबाट राणा थरका सेनाका कर्णेल गएका र उनलाई चिनियाँ पक्षले २० थान कस्तुरीको बिना दिएपछि नेपाली भूभाग मिचिएको आफ्ना पुर्खाले बताएको जानकारी दिए। उक्त कस्तुरीको बिना पनि नक्कली भएको पछि पत्ता लागेको उनले बताए।
भोटखोला, किमाथांका, हटिया, पावाखोला र चेपुवा गाविसका बासिन्दाले अन्तिम सीमांकनमा पुगेर कामुखोलावारि नेपाल नै हो भन्दै नेपालतर्फ नै राख्न अडान लिएको तर ती सैनिक अधिकारीका कारण सुनुवाइ नभएको हटिया गाविसका पूर्वअध्यक्ष वाङ्दाबी भोटेले बताए।
पावाखोला ३ बाट पोप्टी भन्ज्याङतर्फ भेडा चराउन गोठ लिएर हिँडेका चन्द्रबहादुर गुरुङले चरिचरनका लागि चीनलाई वार्षिक १० हजार रुपैयाँभन्दा बढी तिर्नुपरेको गुनासो गरे। चीनले हडपेको नेपाली भूभाग कति छ भन्ने नापजाँच भने भएको छैन। मिचिएको क्षेत्र २० हजार हेक्टरभन्दा बढी भएको अनुमान गरिएको स्थानीय बासिन्दाले बताए।
अन्तिम सीमांकनमा सहभागी राणा थरका ती सैनिक अधिकारीको नाम भने पत्ता लाग्न सकेको छैन। ती सैनिकको नाम पत्ता लगाउन जिल्लास्थित सञ्चारकर्मी, सेना, प्रशासन र प्रहरीले खोजी गरिरहेका छन्।
अहिले सीमा सुरक्षा नेपाल प्रहरीका सईको नेतृत्वमा छ। थोरै जनशक्ति भएका कारण प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन नसकेको स्थानीय बासिन्दाको आरोप छ।
खुला सीमाका कारण यहाँबाट अमूल्य जडीबुटी र बन्यजन्तु चीनतर्फ निकासी हुने गरेका छन्। सदरमुकामबाट सात दिन पैदल दूरीमा पर्ने यस सीमा क्षेत्रमा हालसम्म दुईजनामात्र प्रमुख जिल्ला अधिकारी पुगेका छन्।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले चीनले नेपाली भूभाग मिचेर नेपालीलाई नै कर असुल्ने गरेको गुनासो आफूले पनि सुनेको बताए। 'तर यसबारे म आफैंले बुझ्न पाएको छैन। सीमा क्षेत्र टाढा भएकाले स्थलगत निरीक्षण गर्न सकिएको छैन', उनले भने, 'अब तत्काल यथार्थ बुझ्छु।' अन्नपूर्ण पोस्ट डटकममा खबर छ ।

