केटीको प्रयोग गरी अपहरण गर्ने डन सहित चार पक्राउ
ललितपुर, साउन २१ - केटीको प्रयोग गरी अपहरण तथा शरिर बन्धक बनाई रकम असुली गर्ने चारजनालाई प्रहरी परिसर ललितपुरले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका–२ सानेपा ईन्द्रेणी हाईट बस्ने मोरङ जिल्ला बिराटनगर उपमहानगरपालिका–१२ घर भएका ३६ बर्षीय अभिषेक गिरी, ललितपुर ताल्चीखेल डेरा गरी बस्ने ताप्लेजुङ्ग जिल्ला तिरीङ्गे–४ तथा झापा जिल्ला बिर्तामोड अनारमणी–९ घर भएका ३१ बर्षीय मिलन लिम्बु, काठमाडौँ महानगरपालिका–१४ घर भई कपन –३ बस्ने १९ बर्षीया सारदा सिल्वाल भन्ने कविता देवी शाक्य र काठमाडौँ महानगरपालिका–९ बस्ने झापा जिल्ला गौरादह–४ घर भएका २५ बर्षीय राजु श्रेष्ठ रहेका छन् ।
साउन १४ गते पुर्व चिनजान भएकी सारदा सिल्वालले आफनो मोवाइलबाट काठमाडौँ महादेव गाविस–४ थानकोट बस्ने अच्युत प्रसाद रेग्मीको मोवाइलमा नाटकीय रुपमा फोन गरी समस्या परेको कुरा जानकारी गराई ललितपुर उपमहानगरपालिका–२ ईन्द्रेणी हाईट सानेपा स्थित मुक्तिलाल साहको घर कोठामा डेरा गरी बस्ने अभिषेक गिरीको कोठामा अच्युत प्रसाद रेग्मीलाई बोलाएकी थिइन । अच्युत प्रसाद रेग्मी निजले बोलाएको स्थानमा पुग्दा पुर्व तयारीमा बसेका अभियुक्तहरुले निजलाई कुटपिट, गालीगलौज एवं हातपात गरी बन्धक बनाई शरिरमा लगाएको सुनका गहनाहरु तथा जिन्सी समेतका धनमाल जवरजस्ती लिई शरिर नाङ्गो बनाई केटीसंग अगालो मार्न लगाई फोटो खिचेर खुकुरी समेत देखाई अभिषेक गिरीले प्रयोग गर्दै आएको बा.११ च १२८५ नम्वरको गाडीमा राखी काठमाडौँ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाबाट नगद १ लाख समेत लिई डिल्लीबजार स्थित कानून व्यवसायीको कार्यालयमा लगेर ९ लाख रुपैयाँ कपाली तमसुक कागज समेत जवरजस्ती गराई निजलाई ५ घण्टा बन्धक बनाई छाडेका थिए ।
प्रहरीले उनीहरुको बा.११ च १२८५ नम्वरको गाडी, बा.५६ प ८४१३ नम्वरको स्कुटर, नगद १ लाख ६७ हजार ६ सय , पिडित अच्युत प्रसाद रेग्मीको घडी, परिचयपत्र तथा अन्य कागजातहरु समेत बरामद गरेको छ । अभियुक्त गिरी सम्पत्ती शुद्धीकरण बिभागले मुद्धा चलाई ३० लाख धरौटीमा छुटेको तथा मोरङ जिल्लामा कर्तव्य ज्यान मुद्धामा ६ बर्ष जेल सजाय भोगी निस्केको र राजु श्रेष्ठ सुन्धरा स्थित अनिस तुलाधरले संचालन गरेको क्लव एट्याक्सनमा ब्राउसरको रुपमा काम गरी फिरौती रकम असुल गर्ने कार्यमा सक्रिय हुदै आएको, सारदा सिल्वाल भन्ने कविता देवी शाक्य अभिषेक गिरीको प्रेमीका रही विभिन्न व्यक्तिहरुलाई नाटकीय रुपमा बोलाई डर त्रासमा पारी शरिर बन्धक बनाई रकम असुल्ने कार्यमा संलग्न रहेको र मिलन लिम्बु अपहरण गरी फिरौती रकम असुल गर्ने व्यक्तिलाई संरक्षण दिई आफनो डेराकोठामा राख्दै आउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । निजहरुलाई साउन १८ गते जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अपहरण तथा शरिर बन्धक मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ । समाचार स्रोत रातोपाटी तस्वीर स्रोत अनलाइन खबर डटकम

