कोहिनुर र सिसा चुनौतीकाबीच रिलिज हुँदै

काठमाडौं : चलचित्र 'कोहिनुर' र 'सिसा' शुक्रबार रिलिज हुँदैछ। प्रदर्शन अगाडि दुवै चलचित्रले राम्रो चर्चा पाए पनि व्यावसायिक रूपमा दुवै चलचित्र अप्ठ्यारो मोडमा रहेका छन्। यसको खास कारण गाईजात्रा महोत्सव सुरु हुनु र हिन्दी चलचित्र 'किक'को प्रभाव बढ्नु हो। दुई साताअघि रिलिज भएको सलमान खान अभिनीत 'किक' हेर्ने दर्शक अझै घटेका छैनन्।


कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार र भृकुटीमण्डपमा शनिबारदेखि गाईजात्रा महोत्सव सुरु हुँदैछ। राजधानीका दर्शक चलचित्रभन्दा गाईजात्रामा आकर्षित हुने सम्भावना बढी छ। यो विगतको अनुभव पनि हो। गाईजात्रा यस्तो महोत्सव हो जुन दुई सातासम्म लगातार हाउसफुल चल्ने गर्छ। हरेक क्षेत्र र वर्गमा मान्छे गाईजात्रे सो हेर्न लालायित हुने गर्छन्।

शुक्रबारे संस्कृतिलाई पछ्याउँदै एकसाथ प्रदर्शनमा आउने लागेका यी दुवै चलचित्र राम्रो बनेको अपेक्षा गरिएको छ। हलमा आएपछि दर्शकले कसरी लिन्छन् त्यो समयले तय गर्ने कुरा हो। रणभूमि, दाग, पंक्षी, उकालीओराली, को आफ्नो को बिरानो, क्रोध, गोर्खा रक्षक, शासनजस्ता चलचित्र निर्देशन गरेको आकाश अधिकारी निर्देशित चलचित्र 'कोहिनुर'मा श्रीकृष्ण श्रेष्ठ र श्‍वेता खड्का मुख्य भूमिकामा छन् भने मिथिला शर्मा, दीपराज, अञ्‍जुम खान, मार्टिन खान, नवराज विश्वकर्माको पनि अभिनय रहेको छ।

चलचित्र 'कहाँ भेटिएला' का हिट जोडी ठूलो लगानीमा बनेको 'कोहिनुर'मा कमजोर हुने कुरै भएन। तर गाईजात्रा महोत्सवको लोकप्रियता र सलमानको 'किक'सँग कतिको खरो रूपमा प्रतिस्पर्धा गर्ने हो हेर्न बाँकी नै छ।

राजधानी र आसपासका १८ सहित देशभरका ६२ हलमा प्रदर्शन हुन लागेको यो चलचित्र विदेशमा लगेर फसाइएका नेपाली नारीको कथामा आधारित छ। 'चलचित्र कोहिनुर पूर्ण पारिवारिक र मनोरञ्जनात्मक बनेको छ। काठमाडौंदेखि मुम्बईसम्मको कथाभित्र एक्सन, रोमान्स, सस्पेन्स, थ्रिलर सबै छ', निर्देशक अधिकारीले भने, 'विगतको अनुभवका आधारमा भन्‍न सक्छु यो चलचित्रलाई दर्शकले मन पराउनु हुनेछ।'

एकै दिन चारवटासम्‍म नेपाली चलचित्र रिलिज भएका छन् तर शुक्रबार कोहिनुर र सिसा मात्रै रिलिज हुने, गाइजात्रा महोत्‍सव राजधानीमा मात्रै चल्‍ने र सलमान खान अभिनीत किक तेस्रो सातामा सुस्ताउने अनुमानका कारण दुवै चलचित्रका निर्माण पक्ष आशावादी छन्।


गाईजात्रा महोत्सव, किकसँगै कोहिनुरसँग प्रतिस्पर्धा गर्दै छ अर्को चलचित्र सिसाले। अहिले चल्तीका नायक जीवन लुइँटेलदेखि भारतीय फुटबल टोलीका पूर्वकप्तान भाइचुङ भुटिया अतिथि कलाकारका रूपमा रहेको यो चलचित्रप्रति दर्शक आकर्षित हुन सक्छन्। मान्छेको जीवनलाई सिसासँग तुलना गरिएको यो चलचित्रले दर्शकको मन जित्न सक्नेमा विश्‍jस्त छन् निर्देशक आरबीके शरद क्षेत्री। 'संगत, संस्कार र शिक्षा राम्रो भयो भने मान्छेको विचार पनि राम्रो हुन्छ। चलचित्र सिसा यही थिम आधारित पूर्ण मनोरञ्‍जनात्मक चलचित्र हो', निर्देशक खत्री भन्छन्।

नैना रेसम, नबोले नि हाँसी राखनजस्ता चलचित्र निर्देशन गरिसकेका खत्रीका अनुसार जुन मान्छेलाई जे कुराको अभाव छ त्यसैको खोजी गर्ने भएकाले जीवनमा अभाव सबैभन्दा ठूलो समस्या हो भन्ने कुरालाई चलचित्र सिसामा उठाइएको छ। शान्ति गिरी, शर्मिला मल्ल, रागिनी खड्गी, उमा बेबी, निर्मल सेन्चुरीलगायतका कलाकारको समेत अभिनय रहेको यो चलचित्र राजधानीका १३ सहित देशभरका लगभग ४० हलमा एकसाथ प्रदर्शन हुँदैछ।

सुरुमा साउन २३ को मिति छविराज प्रोडक्सन प्रालिद्वारा निर्मित चलचित्र 'लज्जा'का लागि तय गरिएको थियो। तर उक्त चलचित्र तिहारको अवसर पारेर आगामी कात्तिक ७ गते रिलिज हुने भएपछि लज्जाको स्थानमा कोहिनुर आएको हो।एकै दिन चारवटासम्‍म नेपाली चलचित्र रिलिज भएका छन् तर शुक्रबार कोहिनुर र सिसा मात्रै रिलिज हुने, गाइजात्रा महोत्‍सव राजधानीमा मात्रै चल्‍ने र सलमान खान अभिनीत किक तेस्रो सातामा सुस्ताउने अनुमानका कारण दुवै चलचित्रका निर्माण पक्ष आशावादी देखिएका छन्। अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस