दशैंमा घर जान राति २ बजेदेखि बसपार्कमा लाइन

दशैंमा घर जान राति २ बजेदेखि बसपार्कमा धर्ना
यो दशैंमा कम्तिमा १६ लाखले काठमाडौं छाड्ने अनुमान
२५ भदौ, काठमाडौं । दशैं मनाउन गाउँ फर्किनेहरुका लागि बुधवारदेखि बसको टिकट बुकिङ खुलेको छ ।
टिकट खुलेकै दिन राजधानीका वसपार्क र टिकट काउन्टरहरुमा हजारौंं सर्वसाधारणको लाइन देखियो ।
बुधवार विहानबाट टिकट बुकिङ खुलेकोमा टिकट नपाउने डरले उनीहरु उज्यालो हुनुअघि राति २ बजेदेखिनै बसपार्ककको टिकट काउन्टर अगाडि पुगेर लाइनमा बसिसकेका थिए ।

अनलाइनखबरकर्मी विहान ४ बजे गोंगबुस्थित बसपार्कमा पुग्दा टिकट बुक गर्नेहरुको भिड लागिसकेको थियो ।
बुकिङ सवा ६ बजेदेखि सुरु भएपनि टिकट नपाइने डरले रातिदेखि नै लाइन लाग्न बाध्य भएको उनीहरुको गुनासो थियो ।
‘रातिदेखि नै लाइन लागेर टिकट नलिए भनेको सीट पाइँदैन, त्यहि भएर साढे ४ बजेदेखि लाइनमा छु’ झापा बाहुनडाँगीकी हेममायाँ खत्रीले अनलाइनखबरसँग भनिन्- ‘सबैरै आएर लाइन लागेपनि धेरै पछाडी परेँ ।’

बसपार्कमा अधिकांश कम्पनीहरुले आजदेखि टिकट बुकिङ सुरु गरेका छन् । एकाध गन्तव्यमा बाहेक सबै गन्तव्यको टिकटका लागि लामो लाइन छ ।
अन्य समयमा भन्दा दशैंको बेलामा घर फर्किनेहरु अत्याधिक धेरै हुने गर्छन् । प्रत्येक दशैंकमा कम्तिमा १२ देखि बढिमा २० लाख मान्छेले काठमाडौं छाड्छन् ।

१६ लाख यात्रु बाहिरिँदै
अध्ययन तथा जागिरको सिलसिलामा राजधानीमा रहेको ठूलो जमात एकैपटक घर फर्किदा यातायात व्यवस्थापनमा समस्या पर्ने गर्छ ।
सरकार तथा व्यवसायीहरुले यसपटकको दशैंमा करिव १६ लाखले राजधानी छाड्ने आंकलन गरेका छन् ।
टिकट बुकिङ गर्न ४ बजे नै बसपार्क पुगेका गुल्मी सिमलटारीका अशोक अर्यालले विगतदेखि नै यसैगरी टिकट लिएको बताए ।
टिकट नपाएर दशैंमा घर जान नपाइएलाकी भन्ने डरले समयमा टिकट बुकिङ गर्ने गरेको उनको भनाई थियो ।

सरकार र व्यवसायीले पर्याप्त बसहरुको व्यवस्था गर्न नसक्दा हरेक वर्ष टिकटका लागि संघर्ष गर्नुपरेको सर्वसाधारणको गुनासो छ ।
व्यवसायीहरुले दशैंमा हुने भिडलाई मध्यनजर गरेर बसहरु थप्ने गर्छ । तर, पनि ती वस पर्याप्त छैनन् ।
‘यात्रुहरुको भिड दशैंमा मात्र हुने गर्छ, अन्य बेलामा यात्रु पाउन समेत गाह्रो हुन्छ’ टिकट काउन्टरका राम बहादुर कार्कीले भने- ‘दशैंतिहारको भिडलाई हेरेर मात्र गाडीहरु धेरै हाल्न सकिदैन ।’

कतै रमाइलो, कतै झण्झट
यातायात व्यवसायीले जनताको सुबिधा भन्दा पनि यहि मौकामा कमाउने ध्याउन्न पालेको आरोप लाग्ने गरेको छ ।
टिकट बुकिङ गर्न आउनेहरु १२/१५ वर्षका यूवाहरुदेखि ७०/७५ वर्षका वृद्धवृद्धासम्म रहेका छन् ।
सर्लाहीका लागि टिकट बुकिङ गर्न बसपार्क पुगेका रामेश्वर यादव राती २ बजे ललितपुरस्थित डेराबाट निस्किएका थिए । विगतका वर्षदेखि नै यसैगरी टिकट बुकिङ गर्दै आएको उनले सम्झिए ।
कतिपय यूवाहरुले वर्षको एक पटक यसरी टिकट काट्दा रमाइलो हुने गरेको बताए भने कतिपय झन्झट मान्दै थिए ।
new buspark
प्रहरीको छड्के
सरकार तथा व्यवसायीहरुले टिकट बुकिङ सहज गराउन प्रयासरत देखिन्थे । टिकट बुकिङ चलिरहेकै बेलामा विहान छड्के अनुगमनमा पुगेका ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले यात्रुहरुलाई सहज रुपमा घर पठाउन आफुहरु प्रतिवद्ध रहेको बताए ।
‘पहिलो दिन भएर टिकट बुकिङ गर्न यात्रुहरुको ठूलो भिड लागेको हो, दुई/तीन दिनमा भिड घटिहाल्छ’ अधिकारीले भने- ‘पर्याप्त बसहरु थपेर यात्रालाई सहज बनाउन सरकार र व्यवसायी लागिपरेका छन् ।’
कडा अनुगमन
दशैंको बेलामा टिकट बुकिङमा अनियमितता गरेको पनि गुनासो सुनिन्छ । यसलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले ३ तहको अनुगमन प्रणाली लागु गरेको छ ।
पहिलो टिकट बुकिङ हुने स्थानहरुमा १० वटा नागरिक सहायता कक्ष राखिएको छ भने दोस्रोमा सुपर भाइजरका रुपमा अनुगमन टोलीले निरिक्षण गरिरहेका छन् ।
तेस्रोमा यातायात व्यवसायी, उपभोक्ता मञ्चका प्रतिनिधी र वाणिज्य विभागका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोली काउन्टरमा खटाइएको छ ।
अनलाइन बुकिङ चाहियो
टकट बुकिङ गर्न पुगेका कतिपय यात्रुहरुले अहिलेको डिजिटल जमनामा अनलाइन बुकिङ सिष्टम हुनुपर्ने बताएका छन् ।
‘विश्व कहाँबाट कहाँ पुगिसक्यो, यहाँ घर जानका लागि पनि रातभर लाइन लागेर टिकट काट्नुपर्छ’ यात्रु भिष्म पन्थीले भने- ‘अब यातायात व्यवसायीहरु इन्टरनेट प्रणालीमा गएर यात्रुलाई घरबाटै टिकट काट्न पाउने व्यवस्था गर्नुपर्छ ।’
 तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस