बुद्ध र सगरमाथाको प्रचारमा विश्वका युवा नेताहरू
विश्वका युवा नेताले भने-बुद्ध र सगरमाथाको प्रचार गर्छौं
बुद्ध जन्मस्थल विश्वका शान्तिप्रेमीको गन्तव्यः श्रीलंकाली मन्त्री
२४ भदौ, काठमाडौं । विश्वका बिभिन्न देशका युवा नेताहरुले नेपाल भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो भन्दै बुद्धको सन्देश विश्वभर फैलाउन आफूहरु हिड्ने प्रतिबद्दता जनाएका छन् । उनीहरु बुद्धको जन्मस्थल र विश्वको अग्लो शिखर सगरमाथाको देश नेपालको बारेमा प्रचार प्रसार गर्न ५३ देशका युवा संगठनहरु लाग्ने समेत बताएका छन् ।
एमाले सम्बद्ध युवा संघ नेपालको आयोजनामा काठमाडौंमा भएको विश्व प्रजातान्त्रिक युवा संघको एशिया प्रशान्त क्षेत्रीय बैठकमा भाग लिन आएका युवा नेताहरुले सिद्धार्थ गौतमको जन्मस्थल नेपाल हो भन्ने कुरालाई विश्वभर फैलाउने बताए ।बैठकका निर्णय र काठमाडौं घोषणापत्रबारे जानकारी दिन मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा श्रीलंकाका शिक्षा तथा मानवस्रोत मन्त्री दुमिन्दा देशनायकेले बुद्द जन्मस्थल नेपाल विश्वका शान्तिप्रेमीहरुको गन्तव्य हुने बताए । श्रीलंका फि्रडम पार्टीका युवा नेता समेत रहेका देशनायकेले नेपालले निर्धारित मितिमा समानता सहितका संविधान बनाउने विश्वास व्यक्त गर्दै बुद्धभूमिको शान्ति सन्देश विश्वभर फैलाउन आफूहरु लाग्ने बताए ।
विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष गिरिश फोण्डेले बाँकी विश्वलाई नेपाल बुद्धको पवित्र जन्मस्थल हो भन्दै शान्तिको सन्देश फैलाउन आफ्नो संगठन लाग्ने बताए ।
विश्व प्रजातान्त्रिक संगठनमा विश्वका ५३ देशका युवा संगठनहरु आबद्ध छन् । यो संगठन अमेरिकी साम्राज्यवाद विरुद्ध लड्न भनेर सन् १९४५ मा गठन भएको हो । फोण्डेले भने-हामी विश्वभरका युवाहरुलाई सिद्धार्थ गौतमको जन्मस्थल नेपाल हो भनेर शान्तिको सन्देश पुर्याउनेछौं ।’
युवा संघ अध्यक्ष महेश बस्नेतले युवाहरुको एशिया प्रशान्त क्षेत्रीय बैठकले भारत र चीनबीच समझदारी कायम गर्दै यो क्षेत्रको विकासमा उनीहरुको सकारात्मक भूमिका माग गरेको बताए ।
बैठकले दश बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । बैठकको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गरेका थिए भने समापन उपाध्यक्ष एबम् उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमले गरे ।
बैठकमा नेपाल, भारत, श्रीलंका, चीन, बंगलादेश, पाकिस्तान, भुटान र उत्तर कोरियाका १४ युवा तथा विद्यार्थी संगठनका नेताहरु सहभागि थिए । अर्को बैठक सन् २०१५ मा श्रीलंकामा बस्ने निर्णय भएको अनेरास्ववियुका उपाध्यक्ष ऐन महरले बताए । अनलाइन खबर


