कोरियन भाषा सिकाउने नाममा लाखौंको लुट
काठमाडौं : कोरियन भाषा पढाउने संस्थाले अधिक शुल्क असुली गर्ने क्रम रोकिएको छैन। तालिम प्रदायक संस्थाले ग्यारेन्टी पास गराउने भन्दै विज्ञापन गर्ने र प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म शुल्क असुल्ने गरेको गुनासो भाषा सिकिरहेकाहरूले गरेका छन्।
तालिम दिने संस्थाले लुट मच्चाए पनि सरकारले भने अहिलेसम्म ठोस कारबाही गर्न सकेको छैन। सरकारी निकायबीच समन्वय अभावमा कारबाही हुन नसकेको हो। अनुगमन तथा कारबाही हुन नसकेकाले तालिम दिने संस्थाले ग्यारेन्टी पास भन्दै चर्को शुल्क लिन पाएका हुन्।
कोरियन पक्षको प्रत्यक्ष संलग्नतामा परीक्षा सञ्चालन हुने र उत्तरपुस्तिकासमेत कोरियामा परीक्षण हुने जानकारी ईपीएस शाखाले दिएको छ।ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियन भाषा पास गराइदिने भन्दै कुनै व्यक्ति तथा संस्थाले रकम असुलेको प्रमाणसहित आएमा तत्काल कडा कारबाही गरिने बताए। 'भाषा पास गराउने ग्यारेन्टी कसैले पनि लिन सक्दैन।
तालिम प्रदायक संस्थाले प्रतिव्यक्ति सात हजारदेखि एक लाख रुपैयाँसम्म रकम असुल्ने गरेको भाषा सिक्नेहरूको दाबी छ।कोरियन पक्षको प्रत्यक्ष संलग्नतामा परीक्षा हुने र कोरियाले नै उत्तरपुस्तिका परीक्षण गर्ने भएकाले पास गराउने ग्यारेन्टी कसैले लिन पनि सक्दैन', उनले भने। नक्कली व्यक्तिले परीक्षा दिन नसक्नेसमेत उनले दाबी गरे।
यस्ता घटना हुन सक्ने आशंकामा सुरक्षा संयन्त्रसँग समेत गम्भीर छलफल भइरहेको छ। परीक्षाका समयमा प्रवेशपत्रलगायतका अन्य कागजपत्र कडाइका साथ अनुगमन हुने उनले बताए। कोरियन भाषा परीक्षा आगामी असोज दोस्रो साता राजधानीमा सञ्चालन हुँदैछ।
कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। यो मुलुकमा काम गर्न जान चाहने युवाको संख्या बढ्दो छ। कोरियाले बर्सेनि पाँच हजारदेखि सात हजार हाराहारीमा मात्र नेपाली कामदार लैजाँदै आएको छ। जानका लागि यस वर्ष ६२ हजार पाँच सय १४ जनाले आवेदन दिएका छन्।
मासिक एक लाखदेखि एक लाख ७० हजार रुपैयाँसम्म कमाइ गर्न सकिने भएकाले शिक्षित युवाको समेत त्यहाँ काम गर्न जान आकर्षण बढेको छ। कोरियामा औद्योगिक क्षेत्र र कृषिमा कामको अवसर छ। यसपटक औद्योगिक क्षेत्रमा धेरै र कृषिमा न्यून संख्यामा मात्र कामदार लैजाने कोरियाले जानकारी दिएको छ। अन्नपूर्ण पोस्टबाट

