दशैंमा सम्पूर्ण यात्रुको सुरक्षार्थ विशेष सुरक्षा निति लागुः
मध्यक्षेत्रीय ट्राफिक प्रमुख रञ्जितकार
बारा, असोज ५ – बडादशैंको अवसरमा पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट गुड्ने रात्रिसेवा यात्रुवाहक बसको यात्रालाई सुरक्षित बनाउन विशेष सुरक्षानिति लागु गरिएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथ्लैयाले जनाएको छ । दशैंको मुखमा वर्षेनी हुने गरेको लुटपाटलाई ध्यानमा राखी राजमार्गमा पूर्ण सुरक्षाको व्यवस्था गरिसकेको कार्यालय प्रमुख एसपी उमेश रञ्जितकारले बताएका छन् ।
उनले आफ्नै कार्यकक्षमा रातोपाटीसँग कुरा गर्दै राजमार्ग हुँदै गुड्ने सवारी साधनलाई सुरक्षित राख्न नयाँ रणनितीबारे जानकारी गराएका छन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालय, सशस्त्र सिमा सुरक्षाबल र जिल्ला ट्राफिक कार्यालयको संयुक्त टोली राती मोबाइल गस्ती गरी यात्रुको जिउधनको सुरक्षा गर्ने एसपी रञ्जितकारले बताएका छन् । त्यसैगरी, राजमार्गमा पर्ने शंकास्पद स्थानमा राती अस्थाइ पोष्टको व्यवस्था गरिनेछ । अप्रिय घटनाबाट जोगिन प्रस्थान बिन्दु देखि नै ट्राफिकले यात्रुलाई सम्पर्क गरी शंकास्पद गतिविधि देख्नेबित्तिकै प्रहरीलाई खबर गर्न नम्बर उपलब्ध गराउने योजना रहेको उनले बताएका छन् ।
यात्रा अवधिमा यात्रुहरु चालकबाट सन्तुष्ट छ छैन हेर्ने कुनै उजुरी देखिएमा ट्राफिक नियमानुसार तुरुन्त कार्यवाही समेत गरिने व्यवस्था गरिएको छ । राजमार्गमा हुने गरेको दुर्घटनामा सबैभन्दा बढी ६० प्रतिशतसम्म चालककै लापरवाहीले देखिएकाले दुर्घटना न्युन गर्न विशेष सजगता अपनाइएको छ । चालकद्वारा मादक पदार्थ सेवन, ओभरलोड, ओभरस्पिड, ओभरटेकजस्ता गतिविधिमाथी यात्रुहरुले विशेष निगरानी गर्न आग्रह गरिएको छ ।
त्यतीमात्र नभइ विशेष सुरक्षा योजनाअन्तर्गत एकपटक पुगेर आइसकेका गाडीलाई पुरा चेकअप गराउन यातायात व्यवसायी र मजदुर संगठनलाई सुझाव दिसकेको उनले बताएका छन् । कुनै कारणबश लामोसमयसम्म बाटोमै गाडी राकिनुपरेमा गाडी रोकिएको संकेत चिन्ह संगै राखेर हिँड्न समेत निर्देशन दिएको एसपी रञ्जितकारले बताएका छन् ।
जनकपुरदेखि नागढुंगासम्म बाटोमा रोडमार्केशन, मोड, हाइट, पुल, ओभरटेक दुर्घटनाग्रसतक्षेत्र जस्ता सुचनाको लागी होर्डिङबोर्डको व्यवस्था भएको उनले जनाएका छन् । साथै बडा दशैं र चाडपर्वको समय सवारीसाधन सञ्चालनमा विशेष ध्यान पुर्याउन मातहतका सबै युनिटहरुमा विशेष निर्देशन दिसकेको रञ्जितकारले जानकारी दिएका छन् । कुनै पनि कारणले कसैको दुर्घटना हुँदा सबै पक्षको लागि दुखद हुने भएकाले दुर्घटनाबाट जोगिन ट्राफिक नियम परिपालना गनुपर्ने सबैको दायित्व रहेको उनले विचार व्यक्त गरेका छन् । रातोपाटी

