बागलुङ : नेकपा–माओवादीका सचिव देव गुरुङले आफ्नो पार्टीबाट बाहिरिएको विप्लप समूहले पटका पड्काएर सत्तामा पुग्न खोजिरहेको आरोप लगाएका छन् । नेकपा–माओवादी बागलुङले आइतबार गरेको पत्रकार भेटघाटमा बोल्दै गुरुङले विप्लव समूहको अन्तिम दाउ सत्ता नै भएको बताएका हुन् ।
‘एमाओवादी र विप्लप समूहको वैचारिक धार फरक छैन दुवैको लक्ष सत्तामा पुग्नु हो’, गुरुङले भने, ‘पटका पड्काएर संघर्षको धम्की दिए सत्तामा पुग्ने विप्लपको रणनिति हो । सत्तामा गएपछि उनी पनि प्रचण्डमार्गमा विलय हुन्छन् ।’
सत्तामा पुग्ने मानसिकताले विप्लप आफूहरुबाट बाहिरिएको उनले टिप्पणी गरे । ‘विप्लप समूहमा अझै पनि बैचारिक अस्पस्टता छ’ गुरुङले भने, ‘एमाओवादी र विप्लपले गठन गरेको पार्टीवीचमा कुनै बैचारिक फरक छैन ।’गुरुङले नेपालमा हतियारको राजनीतिको औचित्य सकिएको बताउँदै सत्ताप्राप्तिका लागि हतियार उठाउने परिपार्टीले समस्या भएको टिप्पणी गरेका हुन् । ‘राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि हतियारको राजनीति बाधक हुन्छ’, गुरुङले भने, ‘‘राष्ट्रियता जोगाउनु अहिलेको पहिलो सर्त हो । राष्ट्र बचेमा प्रजातन्त्र बाँच्छ ।’
राष्ट्रिय सरोकारका विषयमा बाह्य शक्तिको हस्तक्षेप बढेको बताउँदै गुरुङले दलहरुको एकताबाट मात्र राष्ट्रियता जोगाउन सकिने उल्लेख गरे । गुरुङले संविधानसभाबाट संविधान बन्नै नसक्ने ठोकुवा गर्दै यसलाई विघटन गरी तत्काल सर्वपक्षीय सभाको आयोजना गर्नुपर्ने जिकिर गरे ।
‘दलहरुवीच बढ्दै गएको निषेधको राजनीति देशकै लागि घातक छ’, उनले भने, ‘दलहरुको विभाजन भनेको राष्ट्रिय विखण्डनको संकेत हो ।’ annapurnapost

